
झापा, ३० जेठ । झापाको बिर्तामोड नगरपालिका–२ चारपाने क्षेत्रमा एक युवतीलाई कालो मोसो दलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शनिबार साँझ करिब ६ः३० बजे चारपानेस्थित राजगढ जाने बाटोमा एक महिलालाई स्थानीय व्यक्तिहरूले कालो मोसो दलेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा कनकाई नगरपालिका–८ निवासी १८ वर्षीय समिर मर्डी, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु र १९ वर्षीया पूजा बस्नेतले बिर्तामोड–२ चारपाने निवासी २१ वर्षीया सबिना राजवंशीलाई पुरानो रिसइबीका कारण बिजुलीको पोलमा हात बाँधी कालो मोसो दलेको खुलेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न चारै जनालाई कालो मोबिलको बट्टा तथा विभिन्न १६ वटा पम्प्लेटसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित सबिना राजवंशीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । उपचारमा उनका श्रीमान् विशाल राजवंशी संलग्न रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


