
भद्रपुर, २२ चैत । झापाको भद्रपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हेमबहादुर कार्की (सन्तु)ले वडाका ज्येष्ठ मातापितालाई धार्मिक तथा पर्यटकीय भ्रमणमा लगेका छन् ।
वडाध्यक्ष भएवापत पाउने सेवासुविधाबाट उहाँले विगत तीन वर्षदेखि वडाका ज्येष्ठ मातापितालाई भ्रमणमा लगिसकेका छन् । सोही क्रममा उहाँले शनिबार चौथो पटक वडाका १२० जना ज्येष्ठ मातापितालाई सुनसरीको धरानस्थित धार्मिकस्थल बराह क्षेत्र र पर्यटकीयस्थल श्रम संस्कृति पार्कमा लग्नुभएको छ ।
२०७९ सालमा वडाध्यक्षमा निर्वाचित भएयता वडाध्यक्ष कार्कीले आफूले पाउने सेवासुविधा सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् ।
“निर्वाचित भएयता बर्सेनि मैले पाउने सेवासुविधाबाट वडाका ज्येष्ठ मातापितालाई धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराउने गरेको छु”, वडाध्यक्ष कार्कीले भन्नुभयो, “ज्येष्ठ मातापितालाई भ्रमण गराउँदा मलाई धेरै खुसी लाग्छ, यो नै सबैभन्दा ठूलो धर्म हो ।”
वडाध्यक्षको व्यक्तिगत गाडीसहित चार वटा सवारी साधनमा उनीहरुलाई एक दिने भ्रमणमा लगिएको थियो । ज्येष्ठ मातापिताको स्वास्थ्यमा आउनसक्ने कुरालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीको टोली समेत रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।


