
काठमाडौँ, २२ चैत । सरकारले यही चैत्र २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिवार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण यही चैत्र २३ गतेदेखि लागु हुने गरी सरकारी कार्यालय तथा शैक्षिक सस्थाहरु शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको सरकार प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिनुहुँदै सरकारका प्रवक्ता पोखरेलले सरकारी कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने पनि निर्णय भएको बताउनुभयो ।
यस्तै मन्त्रिपरिषद् बैठकले डिजिटल नेपाल टान्सफरमेसन परियोजनाका लागि एसियाली विकास बैङ्क तथा विश्व बैङ्कले प्रदान गर्ने जम्मा ९० मिलियन अमेरिकी डलर बरावरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले बताउनुभयो ।
प्रवक्ता पोखरेलले दिगो र समावेशी परियोजनाका लागि विश्व बैकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बरावरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने र राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धमेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो ।
यस्तै नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने लगायतका निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


