
शिवसताक्षी, २२ चैत । झापाको शिवसताक्षी नगरपालिकामा आयोजित मेयर कप २०८२ अन्तर्गत फुटबलतर्फको उपाधि वडा नं. ८ ले जितेको छ।
फाइनल खेलमा वडा नं. ८ ले वडा नं. १ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भएको हो। उपाधिसँगै वडा नं. ८ ले नगद ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. १ ले नगद ४५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
खेलको ‘म्यान अफ द म्याच’ वडा नं. ८ का अविनाश बस्नेत घोषित भए। उत्कृष्ट गोलरक्षक वडा नं. १ का संगम लावती, उत्कृष्ट मिडफिल्डर वडा नं. १ का सृजन मुखिया, सर्वाधिक गोलकर्ता वडा नं. ८ का सोहज थापा घोषित भए। त्यस्तै ‘प्लेयर अफ द टुर्नामेन्ट’ वडा नं. ८ का विशाल तामाङ र ‘राइजिङ प्लेयर’ वडा नं. ९ का योनसन लिम्बू घोषित भएका छन्।
त्यसैगरी, भलिबलतर्फ वडा नं. ७ च्याम्पियन बनेको छ भने वडा नं. ८ उपविजेतामा सीमित रह्यो। क्रिकेट डबल्सतर्फ वडा नं. ११ विजयी हुँदा वडा नं. ९ उपविजेता बनेको छ। उक्त खेलमा पूर्ण लिम्बू ‘म्यान अफ द म्याच’ घोषित भए।
कराँते विधातर्फ वडा नं. ८ ले ५ स्वर्ण, ५ रजत र २ कास्य पदकसहित समग्र च्याम्पियन बन्दै आफ्नो वर्चस्व कायम गरेको छ। ५ स्वर्ण, ४ रजत र ६ कास्यसहित वडा नं. १० द्वितीय तथा १ स्वर्ण, २ रजत र ११ कास्यसहित वडा नं. ११ तृतीय स्थानमा रहे।
कराँतेतर्फ ‘राइजिङ प्लेयर’ पुरुषतर्फ वडा नं. १ का दीप लिम्बू र महिलातर्फ वडा नं. १० की समीक्षा लिम्बू घोषित भए। ‘बेस्ट फाइटर’ महिलातर्फ वडा नं. ८ की सृजना तामाङ र पुरुषतर्फ वडा नं. ८ का राकेश मलिक घोषित भएका छन्।
ब्याडमिन्टन डबल्सतर्फ वडा नं. ९ का समसेर चौधरी र अग्नी खरेलको जोडीले वडा नं. ११ का नरविर फागो र विवेक लिम्बुलाई पराजित गर्दै उपाधि जितेका हुन्। सिंगल्सतर्फ भने वडा नं. ११ विजयी बनेको छ।
प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।
मेयर कपको समापन समारोहमा प्रमुख अतिथिहरूले खेलकुदले अनुशासन, सहकार्य र स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको सञ्चालन लेखा शाखा प्रमुख प्रकाश योङहाङ र शिक्षा शाखा प्रमुख छवि ढकालले गर्नुभएको थियो।


