
झापा, २८ चैत । बिर्तामोड नगरपालिकाले बजार क्षेत्रमा सडक पेटी खाली गराउने अभियान पुनः सुरु गरेको छ ।
नगरपालिकाले पटक–पटक सूचना जारी गर्दै व्यवसायीलाई सटर बाहिर सडक पेटीमा सामग्री नराख्न आग्रह गर्दै आएको थियो । पैदलयात्रु तथा सवारी आवागमनमा अवरोध हुने गरी व्यापारीले फुटपाथ प्रयोग गर्न थालेपछि पुनः ‘फुटपाथ क्लियर’ अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाका अनुसार गत वर्षदेखि नै सुरु गरिएको अभियानलाई निरन्तरता दिइएको हो । उहाँले आवश्यक सबै क्षेत्रमा जनप्रतिनिधिको नेतृत्वमा सडक पेटी खाली गराइने जानकारी दिनुभयो ।
कृषिथोक रोड क्षेत्रमा पछिल्लो तीन दिनदेखि माइकिङमार्फत सचेत गराउँदा पनि अटेरी गरेपछि सामान जफत गर्न थालिएको नगर प्रहरीका सह–इन्चार्ज टंक तिम्सिनाले बताउनुभयो । कृषिथोक क्षेत्रको सडकपेटीमा सामाग्री राखेर बिक्री वितरण गर्दै आएका कारण पैदल यात्रुलाई असहज भएको सर्वसाधारणको गुनासो आएको नगरपालिकाले जनाएको छ ।
सडकपेटी खाली गराउने अभियानमा आपत्ति
यता, बिर्तामोड नगरपालिकाले सडकपेटी खाली गराउने अभियान तीव्र बनाइरहेका बेला स्थानीय उद्योगी–व्यवसायीले त्यसप्रति असन्तुष्टि जनाएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायीका सामग्री नियन्त्रणमा लिने कार्यले साना तथा मझौला व्यवसायीको दैनिक आम्दानीमा प्रत्यक्ष असर परेको जनाएको हो । संघका अनुसार पछिल्लो समयको आर्थिक मन्दीका कारण व्यवसायीहरू पहिले नै दबाबमा छन् । यस्तो अवस्थामा सडकपेटीमा राखिएका सामग्री नियन्त्रणमा लिने कार्यले व्यवसाय सञ्चालन थप कठिन बनेको उल्लेख गरिएको छ ।
“व्यवसायीहरूको संरक्षण, सहजीकरण र प्रोत्साहन गर्नु स्थानीय सरकारको दायित्व हो,” बिर्तामोड उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष गोमा भट्टराई र महासचिव कुशल खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संघले सडक व्यवस्थापन र सार्वजनिक स्थलको सौन्दर्य कायम गर्ने पक्षमा आफूहरू सहमत रहेको जनाए पनि व्यवसाय सञ्चालनका लागि घर अगाडि राखिएका सामग्रीसमेत नियन्त्रणमा लिँदा विशेषगरी साना व्यवसायीहरू मारमा परेको उल्लेख गरिएको छ ।
संघले नियन्त्रणमा लिइएका सामग्री बिना शर्त फिर्ता गर्न र सम्बन्धित व्यवसायीलाई जरिवाना नगर्न नगरपालिकासँग माग गरेको छ । संघले सडकपेटी व्यवस्थापन कार्यलाई मापदण्डअनुसार अघि बढाउन र समस्याको समाधान सहमति तथा संवादबाट गर्न आग्रह गरेको छ । साथै, सम्पूर्ण व्यवसायीलाई आफ्नो व्यवसाय व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न तथा सार्वजनिक स्थलको उपयोगमा सचेत रहन पनि अपिल गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


