
झापा, २९ चैत । सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलले विविध कार्यक्रमका साथ ४५औं वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा सुरुदेखि नै अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘रेडियो साथी’का विद्यार्थीहरूले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा डिलिराम भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उद्देश्य तथा विशेषताबारे सुमित्रा बास्तोलाले प्रकाश पार्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिबाट अभिभावकको प्रतिनिधित्व गर्दै काजी पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गायन लगायत विभिन्न विधामा आफ्ना कला प्रस्तुत गरेका थिए ।
त्यसैगरी, शैक्षिक तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । साथै, वार्षिक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
कार्यक्रमको समापन गर्दै विद्यालयका प्रधानाध्यापक शिवु मैनालीले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


