
झापा, १ बैशाख । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा बदली देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ । अन्य पहाडी इलाकामा आंशिक बदली रहे पनि तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा रहेको देखिन्छ ।
मंगलबारको मौसममा पहाडी र हिमाली क्षेत्रमा केही फेरबदल आउने सम्भावना छ । कोशी प्रदेशका पहाडी भूभाग र देशका हिमाली भेगमा दिउँसोतिर बादल लाग्ने र केही स्थानमा मौसम बिग्रने सङ्केत देखिएको छ । अन्य पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने भए पनि तराईमा भने घाम लाग्ने र मौसम खुला रहने अनुमान महाशाखाले गरेको छ ।
महाशाखाका अनुसार देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने देखिएको छ। पहाडी र हिमाली क्षेत्रमा हुने यो मौसमी फेरबदलले तापक्रम र जनजीवनमा सामान्य प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् । तराई क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना नरहेकाले गर्मी बढ्न सक्ने देखिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


