
झापा, ७ बैशाख । झापा जिल्लाको दमक नगरपालिका–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा कुटपिट भएको छ ।
आज बिहान करिब १०ः३० बजे दमक–१ हवल्दार चोकका ४३ वर्षीय वीरेन्द्र बस्नेतमाथि कुटपिट भएको हो । उनलाई दमक–९ का ५५ वर्षीय शिव साह, कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राईसहित चार जनाले काम छ भन्दै बोलाई उक्त स्थानमा पुगेपछि अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरी कुटपिट गरेका हुन् ।
घटनापछि प्रहरी टोलीले दुरेन राई र शिव साहलाई गोर्खा डिपार्टमेन्ट अगाडिबाट नियन्त्रणमा लिएको छ भने अन्य संलग्न व्यक्ति फरार रहेका छन् । फरार व्यक्तिहरुको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कुटपिटबाट पीडित वीरेन्द्र बस्नेतको कान, मुख र गर्दनमा चोट लागेको छ । हाल उनको अस्पतालमा उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


