
झापा, ३० जेठ । नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्तीका क्रममा दशगजा क्षेत्रमा रहेका चियाका बोट हटाइएको छ।
जिल्ला झापाको कचनकवल गाउँपालिका–५ पाठामारी तथा भारतको बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्लाको पाठामारी क्षेत्रमा रहेको सीमा स्तम्भ नम्बर ११४ मा शुक्रबार नेपाल र भारतका सुरक्षा निकायबीच संयुक्त (ज्वाइन्ट) गस्ती सञ्चालन गरिएको थियो।
प्रहरी चौकी पाठामारी, बीओपी पाठामारी तथा भारतको सशस्त्र सीमा बल (एसएसबी) को सहभागितामा बिहान करिब १०ः३० बजे सुरु भएको संयुक्त गस्तीका क्रममा नेपालतर्फको दशगजा क्षेत्रमा रहेको सुनकोशी चिया बगानका करिब ६० देखि ६५ वटा चियाका बोट हटाइएको जनाइएको छ।
सीमा क्षेत्रको संरक्षण, दशगजा क्षेत्र अतिक्रमणमुक्त राख्ने तथा सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले संयुक्त गस्ती सञ्चालन गरिएको सुरक्षा स्रोतले जनाएको छ। नेपाल–भारत सीमा क्षेत्रमा यस्ता संयुक्त गस्ती तथा निरीक्षण कार्य नियमित रूपमा हुँदै आएका छन्।


