
भद्रपुर, ५ असोज । झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले करिब २३ लाख ३६ हजार ५ सय रुपैयाँ मूल्य बराबरको कार र लत्ताकपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको चेक प्वाइन्ट टोलीले मेचीनगर नगरपालिका–७, जोरसीमल इलाकाबाट भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारसहित लत्ताकपडा नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्णबहादुर डाँगीको कमाण्डमा खटिएको ९ सदस्यीय टोलीले आइतबार दिउँसो २ः५० बजे ध्द्य ण्द्द थ् ण्डठद्द नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा कारभित्र लुकाइराखिएको ३ बोरा र २० पोका लत्ताकपडा फेला पारेको थियो।
नियन्त्रणमा लिइएको कार र लत्ताकपडा आवश्यक कारबाहीका लागि सोही दिन दिउँसो ३ः५५ बजे मेची भन्सार कार्यालय काँकडभिट्टामा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
भन्सार कार्यालयले कारको मूल्य २० लाख रुपैयाँ र लत्ताकपडाको मूल्य ३ लाख ३६ हजार ५ सय रुपैयाँ कायम गरेको छ। दुवैको गरी कुल मूल्य २३ लाख ३६ हजार ५ सय रुपैयाँ रहेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण मुख्यालय झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक जोगेन्द्रबहादुर केसीले अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता निरन्तर रहेको बताउनुभयो।
उहाँका अनुसार सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न नियमित चेकजाँच तथा निगरानीलाई थप प्रभावकारी बनाइएको छ।


