झापा, २१ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज शनिबार काग तिहार मनाइँदैछ। कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा बिहानै कागलाई यमराजको दूतका रूपमा पूजा आराधना गरी मीठा खानेकुरा खान दिएर सम्मान गर्ने परम्परा छ।
सूर्योदयकालमा त्रयोदशी तिथि परेका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यताअनुसार आज शनिबार यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा। पुरुषोत्तम भट्टराईले जानकारी दिए।

धार्मिक मान्यताअनुसार यमराजले लोकको खबर कागमार्फत थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने गरिन्छ। कागले यमराजसमक्ष शुभ समाचार पुर्याओस् भन्ने कामनासहित आजका दिन कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर खुसी पार्ने चलन छ।
लोकविश्वासअनुसार काग घरको आँगन वा छतमा आएर कराएमा कुनै खबर लिएर आएको मानिन्छ। त्यसैले काग कराउँदा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलनसमेत रहेको छ।
काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना गरिन्छ। यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गर्ने परम्परा छ।
दुष्कर्म गर्नेलाई यमराजका रूपमा दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने धार्मिक विश्वाससँग तिहार पर्व जोडिएको छ। यम यातनाबाट मुक्ति प्राप्त गर्ने उद्देश्यले परिवारका सदस्यका नाममा यमदीपदान गर्ने परम्परा पनि छ। यस वर्ष तिथिको घटबढका कारण यमदीपदान शुक्रबार साँझदेखि नै सुरु भएको छ।
वैदिक सनातन शास्त्रीय विधिअनुसार यमदीप दक्षिण दिशातर्फ फर्काएर दान गर्नुपर्ने मान्यता छ। यसरी दीपदान गर्दा यम यातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ।
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार साँझदेखि नै सुरु भएको हो। यसै अवसरमा धनतेरस पर्व पनि शुक्रबार नै मनाइएको छ। धनतेरसका दिन गरगहना तथा तामाका भाँडाकुँडा खरिद गर्दा घरमा लक्ष्मी स्थिर भई बस्ने धार्मिक विश्वासअनुसार बजारमा गरगहना तथा भाँडाकुँडा किनमेल गर्ने परम्परा रहेको छ।



