भद्रपुर, २१ कात्तिक । सशस्त्र प्रहरी बल नेपाल नं। २ गण झापाले अवैध रूपमा भित्र्याइएका करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका पटाका तथा आतसबाजीजन्य सामग्री नष्ट गरेको छ।
आगामी चाडपर्वलाई सुरक्षित, मर्यादित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले गण तथा मातहतका युनिटबाट खटिएका चेकिङ टोलीले विभिन्न मिति र समयमा जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका पटाका तथा आतसबाजीजन्य सामग्री नष्ट गरेको हो।

तिहार तथा छठ पर्वका समयमा पटाका र आतसबाजीको प्रयोगबाट आगलागी, मानवीय दुर्घटना, धनजनको क्षति, ध्वनि तथा वातावरणीय प्रदूषण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै अवैध रूपमा ओसारपसार तथा बिक्री वितरण हुने यस्ता सामग्री नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।
पटाका तथा आतसबाजीको अनियन्त्रित प्रयोगले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पार्नुका साथै आगलागी र अन्य दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता सामग्री प्रयोग नगर्न सशस्त्र प्रहरी बल नेपाल नं। २ गण झापाले जिल्लावासीमा अनुरोध गरेको छ।
सामग्री नष्ट गर्ने कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, भद्रपुर नगरपालिका–८ का वडाध्यक्ष मनोज सुव्वा, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरीले चाडपर्वको समयमा हुन सक्ने सम्भावित दुर्घटना र जोखिम न्यूनीकरणका लागि अवैध पटाका तथा आतसबाजीको ओसारपसार र बिक्री वितरण नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।



