झापा, २१ कात्तिक । चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ (क्याटर सेन्चुरी) पटक अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले शनिबार राति आफ्नो सत्याग्रह अन्त्य गरेका छन्।
पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीसँग सहमतिमा हस्ताक्षर गरेका हुन्।

अनशन तोडिएपछि मन्त्री पोखरेलले यो नै डा. केसीको अन्तिम अनशन हुने दाबी गरेका छन्। उनले सहमतिमा उल्लेखित विषयहरूको कार्यान्वयन प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए।
मन्त्री पोखरेलले भने, ‘यो डा. केसीको अन्तिम अनशन हो। उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ।’
डा. केसी र सरकारबीच भएको सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि लामो समयदेखि संघर्ष गर्दै आएका डा. केसीले विभिन्न माग राख्दै पटकपटक अनशन बस्दै आएका छन्। पछिल्लो सहमतिसँगै उनको २५औँ सत्याग्रह पनि अन्त्य भएको छ।



