बिर्तामोड, २२ कात्तिक । झापाको बिर्तामोडस्थित सालडाँगी आसपास लामो समयदेखि खुला आकाशमुनि कष्टकर जीवन बिताउन बाध्य काइली तामाङको उद्धार गरी मानव सेवा आश्रममा सुरक्षित आश्रयको व्यवस्था गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगर सचिव सृजन अधिकारीको नेतृत्वमा तामाङको उद्धार गरिएको हो । उद्धार अभियानमा रास्वपा झापा क्षेत्र नं. २ का उपसभापति सुनील अधिकारी, सामाजिक अभियन्ता बिक्की राजवंशी तथा बुट्टाबारी प्रहरी बिटको विशेष पहल र सहकार्य रहेको थियो।

लामो समयदेखि असहाय अवस्थामा जीवनयापन गरिरहेकी तामाङलाई उद्धार गरी सुरक्षित आश्रयस्थलमा पुर्याइएको हो। उनको उद्धारपछि मानव सेवा आश्रममा बसोबासको व्यवस्था मिलाइएको जनाइएको छ।
यस अभियानलाई सफल बनाउन सहयोग गर्ने पार्टीका नेता तथा कार्यकर्ता, सामाजिक अभियन्ता, प्रहरी प्रशासन र स्थानीयवासीप्रति रास्वपा बिर्तामोड नगर समितिले आभार व्यक्त गरेको छ।
राजनीति केवल सत्ता प्राप्तिको माध्यम मात्र नभई समाजमा रहेका असहाय, अशक्त र समस्यामा परेका नागरिकको सेवामा समर्पित हुने माध्यम पनि हो भन्ने सन्देश यस अभियानले दिएको नगर समितिको भनाइ छ।
‘मानवता पहिलो प्राथमिकता, सेवा हाम्रो जिम्मेवारी’ भन्ने भावनासहित सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने समितिले जनाएको छ।



