बुधबारे, ५ असोज । चालू आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई तीव्रता दिँदै झापाको बुद्धशान्ति गाउँपालिका–१ ले विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाएको छ।
वडा कार्यालयले होक्से चोकदेखि वडा कार्यालय जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु गरेको छ। करिब डेढ किलोमिटर लामो उक्त सडक असोजभित्रै कालोपत्रे सम्पन्न गर्ने लक्ष्यसहित निर्माण अघि बढाइएको वडा कार्यालयले जनाएको छ।

वडाध्यक्ष अनिल वाग्लेका अनुसार संघ र प्रदेश सरकारबाट विनियोजित योजनाहरू समयमै सम्पन्न गर्ने उद्देश्यले आवश्यक तयारी तथा प्रारम्भिक चरणका कामहरू पूरा गरिसकिएको छ। चालू आर्थिक वर्षमा मात्रै बुद्धशान्ति–१ मा संघ तथा प्रदेशबाट २९ भन्दा बढी विकास आयोजना परेका छन्।
‘संघ र प्रदेशबाट आएका योजनाहरूलाई समयमै कार्यान्वयन गरी तोकिएको अवधिभित्र सम्पन्न गर्ने गरी काम अघि बढाएका छौँ,’ वडाध्यक्ष वाग्लेले भन्नुभयो।
वडाले सडक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। गत आर्थिक वर्षमा पनि संघ तथा प्रदेश सरकारबाट बुद्धशान्ति–१ मा उल्लेख्य संख्यामा योजना परेका थिए। ती योजनाको कार्यान्वयनसँगै वडाका अधिकांश मुख्य तथा सहायक सडक कालोपत्रे भइसकेका छन्।
चालू आर्थिक वर्षमा पनि बाँकी सडकको स्तरोन्नति तथा कालोपत्रेलाई निरन्तरता दिँदै अन्य पूर्वाधारका योजना पनि समयमै सम्पन्न गर्ने वडा कार्यालयको लक्ष्य छ।
वडाध्यक्ष वाग्लेको सक्रियतामा बजेट कार्यान्वयनलाई गति दिइएको र योजना छनोटदेखि निर्माण सम्पन्न गर्नेसम्मका काममा वडा कार्यालयले समन्वय बढाएको वडा कार्यालयले जनाएको छ।



