
बिर्तामोड, ४ असोज । चलचित्र ‘बेहुली’का मुख्य कलाकार पारस बम ठकुरी ‘कुलबोइ’ र दिव्या रायमाझी दर्शकसँग भेटघाटका लागि पूर्व आइपुगेपछि बिर्तामोडका सिनेमा हलमा दर्शकको उत्साह देखिएको छ।
आइतबार बिर्तामोडस्थित पाथिभरा सिनेप्लाजा र क्युएफएक्स सिनेमा हलमा पुगेका कलाकारले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे। कलाकारलाई प्रत्यक्ष भेट्न पाउँदा दर्शक उत्साहित देखिएका थिए। कुलबोइ र दिव्या हलमा पुगेलगत्तै उनीहरूसँग फोटो खिच्न, कुराकानी गर्न र अटोग्राफ लिन दर्शकको भीड लागेको थियो।
कलाकारलाई भेट्न पुगेका दर्शकले केही समयसम्म उनीहरूलाई घेरेर राखेका थिए। विशेषगरी युवा पुस्ताका दर्शकको सहभागिता उल्लेख्य देखिएको थियो।
शासन कडेल निर्देशित ‘बेहुली’ अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ। दोस्रो सातामा प्रवेश गरेसँगै चलचित्रप्रति दर्शकको आकर्षण थप बढ्दै गएको निर्माण पक्षको भनाइ छ। बिर्तामोडमा भएको कलाकारको भेटघाटले पनि चलचित्रप्रतिको दर्शक उत्साहलाई थप उजागर गरेको छ।
दर्शकले चलचित्रको कथा, कलाकारको अभिनय तथा प्रस्तुतिको प्रशंसा गरेका छन्। विशेषगरी चलचित्रले युवा पुस्तालाई आकर्षित गरिरहेको देखिएको छ। कुलबोइ र दिव्याको जोडीलाई समेत दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन्।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘बेहुली’ले दोस्रो सातामा समेत दर्शकको साथ पाइरहेको छ। कलाकारको प्रत्यक्ष भेटघाट र दर्शकसँगको अन्तरक्रियाले चलचित्रको प्रचारप्रसारलाई समेत थप बल पुगेको देखिएको छ।


