
दमक, ४ असोज । झापाको दमकमा घरमा चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई चोरीका सामानसहित पक्राउ गरेको छ।
दमक नगरपालिका–२ की ३३ वर्षीया मनिषा तामाङको घरमा कोही नभएको अवस्थामा ढोका फोडेर सुनका गरगहना र नगद चोरी भएको थियो। भदौ २ गते भएको उक्त चोरीबारे भदौ ३ गते प्रहरीलाई जानकारी प्राप्त भएको थियो।
सीसीटीभी फुटेजका आधारमा खोजी गर्ने क्रममा प्रहरीले पाँचथर मिक्लाजुङ गाउँपालिका–४ रवि घर भई हाल दमक–५ मा डेरा गरी बस्ने १९ वर्षीय दीपक राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार राईको साथबाट नगद ७९ हजार रुपैयाँ, चाँदीको पाउजु १ थान, सुनको पिन्जडा २ थान र सुनको श्रीबन्दी १ थान बरामद भएको छ। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


