झापा, ४ असोज । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र इलामका विभिन्न स्थानबाट प्रहरीले असोज ३ गते लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।
झापाको मेचीनगर–७ बाट नारायण किसानलाई १० ग्राम ९ सय मिलिग्राम, संजित राजवंशी र प्रवीण उराउलाई १३० मिलिग्राम तथा दमक–१ बाट किरण साम्बा लिम्बु र रोशन राईलाई १ ग्राम ७३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोरङको पथरीशनिश्चरे–१ बाट करण राईलाई १ ग्राम ११० मिलिग्राम ब्राउन सुगर तथा सुक्रबहादुर तामाङ र सन्दीप राईलाई ३१ ग्राम ११० मिलिग्राम गाँजासहित पक्राउ गरिएको छ। यस्तै, कानेपोखरी–६ बाट विक्रम गुरुङ र केविना गुरुङलाई ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ।
सुनसरीको इनरुवा–१० बाट प्रहरीले को १ च ८२७९ नम्बरको पिकअपमा लुकाएर राखिएको १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। घटनामा पिकअप चालक भोक्राहा नरसिंह–५ का ३० वर्षीय रामबहादुर यादव पक्राउ परेका छन्। महेन्द्रनगरबाट भारतीय नागरिक २० वर्षीय विपिनकुमार यादवलाई ८३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
यस्तै, इलाम नगरपालिका–९ बाट मौसम लिम्बु र मनिषा लिम्बुलाई ५४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



