
झापा, ४ असोज । जेन्जी आन्दोलनका क्रममा काठमाडौँस्थित कारागारबाट भागी फरार भएका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ हुँसेसाँड्गुका २७ वर्षीय राजकुमार लिम्बू रहेका छन्। उनी काठमाडौँको केन्द्रीय कारागार, जगन्नाथदेवलअन्तर्गत भद्र सेन्टरमा कैद भुक्तान गरिरहेका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लिम्बूलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी निरीक्षक प्रमोद खड्काको टोलीले २०८३ असोज ३ गते साँझ करिब ७ बजे दमक नगरपालिका–६ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
लिम्बूविरुद्ध परिवर्तित नाम ‘जिल्ला चेगा–१ (क)’ को जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको जबरजस्ती करणी मुद्दा चलेको थियो। काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०७९ असार २२ गते गरेको फैसलाअनुसार उनलाई १८ वर्ष कैद, पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति तथा २ हजार २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको थियो।
सोही फैसलाअनुसार कैद भुक्तान गरिरहेका लिम्बू २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा कारागारबाट भागी फरार भएका थिए।
पक्राउ परेका लिम्बूलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


