
झापा, ४ असोज । गत भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी सामान्य बाढीभन्दा निकै फरक र असाधारण गतिमा बगेको वैज्ञानिक अध्ययनले देखाएको छ।
विश्वभरका चरम मौसम घटनाको अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था वर्ल्ड वेदर एट्रिब्युसन (डब्ल्यूडब्ल्यूए) ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार भोटेकोसीमा आएको बाढीको औसत गति प्रतिघण्टा १८८ किलोमिटरसम्म पुगेको थियो।
यसअघि नेपाली बाढीविज्ञहरूले उक्त बाढीको गति प्रतिघण्टा करिब ५५ किलोमिटरसम्म हुन सक्ने अनुमान गरेका थिए। तर डब्ल्यूडब्ल्यूएको अध्ययनले अनुमान गरिएभन्दा दोब्बरभन्दा बढी तीव्र गतिमा बाढी बगेको देखाएको हो।
७ मिनेटमै २२ किलोमिटर दूरी
डब्ल्यूडब्ल्यूएका अनुसार रसुवाको लाङटाङ लिरुङ हिमालमा ५ हजार १५० मिटरभन्दा माथिको ठूलो चट्टानी भित्तो भत्किएपछि त्यससँगै हिमनदीको केही भागसमेत खसेको थियो। ठूलो परिमाणमा चट्टान र बरफ एकैपटक तल खस्दा पानी, माटो, ढुंगा र बरफ मिसिएको शक्तिशाली बहाव बनेको थियो।
यो बहाव ल्हेन्दे खोलामा पुग्दा शक्तिशाली बाढीमा परिणत भएको र त्यसको औसत गति प्रतिघण्टा १८८ किलोमिटर रहेको अध्ययनले देखाएको छ।
अध्ययनअनुसार बाढीले लाङटाङ क्षेत्रदेखि रसुवागढी सीमा क्षेत्रसम्मको करिब २२ किलोमिटर दूरी सात मिनेटमै पार गरेको थियो। तीव्र गतिमा आएको चट्टान, बरफ, माटो र पानीको मिश्रित बहाव भोटेकोसी हुँदै तलतर्फ फैलिएको थियो।
त्यसपछि रसुवागढी, टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्र हुँदै बाढी वेत्रावती र त्रिशूलीतर्फ अघि बढेको थियो।
देवघाटमा ५ हजार ८५० घनमिटर प्रतिसेकेन्ड बहाव
डब्ल्यूडब्ल्यूएको अध्ययनअनुसार बाढी करिब २०० किलोमिटर तल रहेको चितवनको देवघाटमा सात घण्टाभन्दा कम समयमा पुगेको थियो।
देवघाटमा नदीको बहाव प्रतिसेकेन्ड करिब ५ हजार ८५० घनमिटर पुगेको अध्ययनले देखाएको छ। चार घण्टाभन्दा कम अवधिमा करिब २ करोड घनमिटर अतिरिक्त पानी बगेको र करिब ३ करोड ५ लाख घनमिटर माटो, ढुंगा तथा अन्य पदार्थ विभिन्न क्षेत्रमा थुप्रिएको वैज्ञानिकहरूको निष्कर्ष छ।
यसबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनाको क्षति भएको थियो।
जलवायु परिवर्तनसँग जोडिएको जोखिम
डब्ल्यूडब्ल्यूएको अध्ययनमा उच्च हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमनदीमा भइरहेको परिवर्तन तथा जमिनभित्र जमेको बरफ अर्थात् पर्माफ्रस्ट पग्लिनेजस्ता प्रक्रियाले यस्ता भूजोखिम बढाउन सक्ने उल्लेख छ।
वैज्ञानिकहरूले भदौ १० गतेको घटनालाई सामान्य बाढीका रूपमा नभई चट्टान, बरफ, माटो र पानी एकैपटक तीव्र गतिमा बगेको बहुप्रकोपयुक्त भूजोखिमका रूपमा व्याख्या गरेका छन्।
डब्ल्यूडब्ल्यूएको अध्ययनमा २० जनाभन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक तथा अनुसन्धानकर्ता सहभागी थिए। प्रतिवेदनले हिमाली क्षेत्रमा भइरहेको वातावरणीय परिवर्तन र जलवायु परिवर्तनका कारण यस्ता जोखिमलाई गम्भीर रूपमा अध्ययन तथा पूर्वतयारी गर्नुपर्ने आवश्यकता औँल्याएको छ।


