
झापा, ४ असोज । मनसुन बाहिरिने समय नजिकिँदै गर्दा नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज १ गतेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायुसँगै पश्चिमी वायुको प्रभाव देखिन थालेको हो ।
मौसमविद् टेकराज थामीका अनुसार अब मनसुनी वायु क्रमशः कमजोर हुँदै जाने र पश्चिमी वायुको प्रभाव बढ्दै जानेछ। यससँगै देशका विभिन्न स्थानमा तापक्रम पनि क्रमशः घट्ने उनले बताए।
नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो। त्यसैले अब मनसुन अवधि सकिन दुई साताभन्दा कम समय बाँकी छ। यद्यपि मनसुन बाहिरिने समय केही दिन अघिपछि हुन सक्ने महाशाखाले जनाएको छ।
यस वर्ष नेपालमा मनसुन औसत मितिभन्दा ६ दिन ढिला अर्थात् जुन १९ मा कोशी प्रदेशबाट प्रवेश गरेको थियो। जुन ३० सम्ममा यो देशभर फैलिएको थियो।
नेपालमा मौसमलाई मुख्यतः प्रि–मनसुन, मनसुन, पोस्ट–मनसुन र हिउँद गरी चार भागमा वर्गीकरण गरिन्छ। सेप्टेम्बरपछि पोस्ट–मनसुन सुरु हुन्छ भने डिसेम्बरदेखि हिउँद र मार्चदेखि प्रि–मनसुन सुरु हुने गर्छ।


