
झापा, ५ असोज । रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४ सय ५१ पुगेको छ।
नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार रसुवामा २३६, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। बाढीमा घाइते भई काठमाडौंमा उपचाररत थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
फेला परेका शवको पहिचानका लागि मृतक र आफन्तबाट गरी ३ हजार २८३ वटा डीएनए नमुना सङ्कलन गरिएको छ। हालसम्म १ हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
पहिचान हुन बाँकी १ हजार ३६२ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।
प्रहरीका अनुसार अझै ४ हजार ६५५ जना बेपत्ता छन्। विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा १ हजार ३४२ जनालाई राखिएको छ।


