
झापा, ८ बैशाख । झापाको कनकाई नगरपालिकामा अटो र मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
आज कनकाई नगरपालिका–३ नयाँबस्तीस्थित पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–००१ह ८२५२ नम्बरको अटो अनियन्त्रित भइ बिपरित दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।
दुर्घटनामा अटोमा सवार हल्दिबारी–३ का ६८ वर्षीया मन्जुधरी ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी ढकालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा दिउँसो ४ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको लास सोही अस्पतालमै रहेको छ ।
अटोमा सवार हल्दिबारी–३ का ५७ बर्षीय जीवन ढकाल, ५० वर्षीया हरिमाया ढकाल, ३५ वर्षीया भीमा ढकाल, १३ वर्षीय रोजन ढकाल, हल्दिबारी–५ का १३ वर्षीय प्रदिप नेपाल र मोटरसाइकल चालक मोरङ मिक्लाजुङ–६ का ३७ वर्षीय चन्द्रबहादुर खत्री घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले अटो, मोटरसाइकल र अटो चालक हल्दिबारी–३ का ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिएको छ ।



