
झापा, ९ बैशाख । पूर्वी नवलपरासीमा गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ।
गैंडाकोट नगरपालिका–१० सिस्नेमा बा.२ झ ३८५४ नम्बरको सरकारी गाडी (टाटा सुमो)ले गएराति ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेल रहेका प्रहरीले जनाएको छ ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मृत्यु भएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । दुर्घटनामा संलग्न गाडी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) को भएको खुलेको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाडी तीव्र गतिमा रहेकाले दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । सो गाडीभित्र अर्ना बियरको कार्टुन समेत फेला परेको प्रहरीले जनाएको छ ।



