
झापा, ११ बैशाख । झापाको विभिन्न तीन स्थानबाट लागुऔषधसहित पाँच जनालाई पक्राउ गरिएको छ ।
बिहीबार भद्रपुरका दुई स्थान र झापा गाउँपालिकाको एक स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बिहीबार दिउँसो झापा गाउँपालिका–४ चौधरीटोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले भारततर्फबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री शिवसताक्षी नगरपालिका–११ का ३१ वर्षीय मदन मिश्रलाई शंका लागि चेकजाँच गर्दा उनको शर्टको कलरमा लुकाएर ल्याएको लागुऔषध ब्राउनसुगरजस्तो देखिने लिसाईलो खैरो पदार्थ ३ ग्राम ८९ मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको छ ।
त्यस्तै, बिहीबार साँझ ६ बजे भद्रपुर नगरपालिका–४ डाँगीबारीमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको संयुक्त टोलीले भारततर्फबाट नेपालतर्फ आउँदै गरेका तीन जना पैदल यात्रीलाई चेकजाँच गर्दा उनीहरुसँग ८ ग्राम ७५० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–१ का २४ वर्षीय भिमराज खजुम, २९ वर्षीय राजमान राई र २३ वर्षीय लक्ष्मण लिम्बु रहेका छन् । उनीहरुलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
यस्तै, झापाको भद्रपुर नगरपालिका–५ मेचीबिटमा बिहीबार साँझ करिब ६ः३५ बजे प्रहरीले भद्रपुर–७ मेघा टोलका २४ वर्षीय सुमन मुखियालाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपालतर्फ आउँदै गरेका साइकल यात्री उनीमाथिलाई शंका लागेर चेकजाँच गर्दा साइकलको सिटमुनी लुकाएर ल्याएको अवस्थामा लागुऔषध ब्राउनसुगरजस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकसहित ८ ग्राम १०० मिलिग्राम प्लाष्टिक बाहेक ७ ग्राम ७६० मिलिग्राम फेला परेको थियो । मुखियाको साथबाट नगद ९ हजार रुपैयाँ समेत बरामद गरिएको छ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



