
झापा, १२ बैशाख । झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरिएको छ ।
वैशाख ११ गते झापाको भद्रपुर नगरपालिका–५ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर–१० का राजुकुमार राजबंशी, अर्जुनधारा–८ का सलुन रसाइली र बिर्तामोड–३का पारस प्रसाईंलाई ९ ग्राम २३० मिलिग्राम, बिर्तामोड–४का रोहित शर्मा र दिपक श्रेष्ठलाई ६ ग्राम १७० मिलिग्राम, मेचीनगर–१० का गुलाम रसुल मियाँलाई ५०० मिलिग्राम, भद्रपुर–५ का कञ्चन राजवंशीलाई ५३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
त्यस्तै, प्रहरी चौकी जलथलले हल्दिबारी गाउँपालिका–३का प्रतीक तामाङ र प्रीतम तामाङलाई २५० मिलिग्राम ब्राउनसुगरसहित र प्रहरी चौकी धरमपुरले शिवसताक्षी–१ का सुदिप बिशुङ्खेलाई २१४ पिस प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ ।
यसतै, मोरङको विराटनगर महानगरपालिका–१५ स्थितमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बेलबारी–४ का मन कुमार राईलाई ५ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित, सुनसरीको इनरुवा नगरपालिका–४ स्थितमा अस्थायी प्रहरी चौकी बसपार्कले इनरूवा–७ का श्रवण कुमार उरावलाई ५०० मिलिग्राम ब्राउन सुगरसहित र इलामको सूर्योदय नगरपालिका–११ बाट सोही स्थानका विवेक राई र उदित राईलाई ११० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरु सबै जनाको थप अनुसन्धान भइ रहेको जनाइएको छ ।



