
भद्रपुर, १२ बैशाख । कोशी प्रदेशस्तरीय बहुभाषिक सांस्कृतिक महोत्सव झापाको सदरमुकाम भद्रपुरमा सम्पन्न भएको छ ।
कोशी प्रदेशका ११ जिल्लाका सर्जक भेला भएको सम्मेलनमा बहुभाषाका स्रष्टाद्वारा कविता वाचन, तृत्य तथा गीत संगीत प्रस्तुत गर्दै महोत्सव सम्पन्न भएको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान शास्त्रीय र परम्परागत संगीत विभाग एवम् बहुभाषिक साहित्य संगीत कला केन्द्रको संयुक्त आयोजनामा सम्पन्न महोत्सवको उद्घाटन भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका थिए ।
बहुभाषिक साहित्य संगीत कला केन्द्रको अध्यक्ष एवम् संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिप्रसाद पौडेलको अध्यक्षचामा सम्पन्न कार्यक्रममा गायन, संगीत र गीत रचनामा विशिष्ठ योगदान गर्ने ८१ वर्षीय अग्रज स्रष्टा दिपककुमार वान्तवालाई सम्मान समेत प्रदान गरिएको थियो ।



