
झापा, २० बैशाख । झापाको बिर्तामोड नगरपालिका–२ श्रीहरी टोलमा पैनी (नाला) खन्ने कार्यका क्रममा स्थानीयबीच विवाद उत्पन्न हुँदा कुटपिटको घटना भएको छ ।
शनिबार वडा अध्यक्षको उपस्थितिमा सडक किनारमा दुई वटा स्काभेटर प्रयोग गरी पैनी खन्ने काम सुरु गरिएको थियो । स्थानीय बासिन्दाले विरोध जनाएपछि काम तत्काल स्थगित गरी स्काभेटर फिर्ता गरिएको, स्थानीय र नगरपालिका बीच सहमति भएपछि मात्र बाँकी काम अघि बढाइने समझदारी बनेको बताइएको छ।
यसैबीच, घटनास्थलमा करिब २०–३० जना स्थानीय भेला भई अर्को जेसीबी ल्याएर नाला पुर्ने प्रयास गर्दा बिर्तामोड–२ का ७३ वर्षीय नन्दकुमार उप्रेती र सोही स्थानका २२ वर्षीय निकेश मिश्रबीच विवाद भएको थियो । विवादका क्रममा मिश्रले उप्रेतीमाथि कुटपिट गरी फरार भएको प्रहरीले जनाएको छ ।
घाइते उप्रेतीलाई बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचारका लागि लगिएको छ। उनको नाकमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको जनाइएको छ । कुटपिटमा संलग्न मिश्रको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



