
झापा, १६ बैशाख । अवैध रूपमा भारतबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको माछा प्रहरीले बरामद गरी नष्ट गरेको छ।
मंगलबार साँझ करिब ४ः४५ बजे झापाको झापा गाउँपालिका वडा नं. ४ बालुबाडी क्षेत्रमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको गस्ती टोलीले लुकाईछिपाई ल्याइँदै गरेको करिब १५० केजी मरेको माछा बरामद गरेको थियो । बरामद माछाको अनुमानित मूल्य ४५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
माछा ओसारपसारमा प्रयोग गरिएको प्रदेश १–०२–००३ प ३९४२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। तर, प्रहरी टोलीलाई देख्नासाथ माछा ल्याउने व्यक्ति फरार भएको बताइएको छ ।
बरामद गरिएको माछा मंगलबार साँझ करिब ६ः०० बजे झापा गाउँपालिका वडा नं. १ का वडा सदस्य कमल बहादुर लिम्बू तथा स्थानीयबासीको रोहबरमा खाल्डोमा पुरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



