
झापा, २६ फागुन । झापाको गौरादह नगरपालिका–५ स्थित स्कुलचन बजारमा आज बिहान यात्रुबाहक बस र टिफर एकआपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन् ।
दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१ ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र.न.२–०३–००१ ख ७१५३ नम्बरको टिफर भित्री सडक खण्डमा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा बस चालक कृष्ण प्रसाद राजवंशी, यात्रुहरू योगमाया निरौला, कल्पना प्रसाद उराउ, शारदा देवी पौडेल, सलिना खत्री र उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका छन् ।
घाइतेहरुमध्ये योगमाया निरौलालाई थप उपचारका लागि निम्स अस्पताल दमक पठाइएको छ भने अन्यको नगर अस्पताल गौरादहमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ । प्रहरी चौकी महारानीझोडाले टिफर चालक र दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



