
बिर्तामोड, ३१ बैशाख । बिर्तामोड नगरपालिकामा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सञ्चालन भइरहेको छ । वैशाख २१ गतेदेखि सुरु भएको यो अभियान आज अर्थात् ३१ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
नगरका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र लगायतका २४ स्थानमा केन्द्र तोकेर कार्यक्रम सञ्चालन गरिएको फोकल पर्सन सङ्गीता अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पाखुराको नाप, उमेर अनुसार लम्बाइ, उचाइ तथा तौल मापन गरी पोषण अवस्थाको लेखाजोखा भइरहेको छ ।
स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार कार्यक्रमको दैनिक अनुगमनसमेत भइरहेको छ । उहाँले पोषण अवस्थाको पहिचान गरी कुपोषित बालबालिकालाई उपचारको दायरामा ल्याइने बताउनु भयो ।
स्वास्थ्य शाखाका अजय पौडेलले मध्यम तथा शीघ्र कुपोषण देखिएका बालबालिकालाई आवश्यकताअनुसार निःशुल्क पोषकतत्त्व वितरण गरिने तथा कडा कुपोषण भएका बालबालिकालाई पोषण पुनर्स्थापना केन्द्र भद्रपुरमा रेफर गरिने जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



