
झापा, ३१ बैशाख । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दाजुभाइको हत्या गरी खोलामा लुकाइएको अवस्थामा बुधबार शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको शव खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा भेटिएको हो।
एक व्यक्तिले मंगलबार राति प्रहरीलाई फोनमार्फत आफूले आर्थिक विवादका कारण हत्या गरेको स्वीकार गर्दै घटनास्थलको जानकारी दिएको आधारमा खोजतलास गर्दा शव बरामद भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले एकथान खुकुरी पनि बरामद गरेको छ।
परिवारका सदस्यका अनुसार दाजुभाइ मंगलबार बिहान कुलो निर्माण गर्न जाने भन्दै घरबाट निस्किएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए।
घटनास्थल सडकबाट करिब पाँच घण्टा पैदल दूरीमा रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको र पक्राउपछि विस्तृत विवरण सार्वजनिक हुने प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



