
झापा, ३ जेठ । काठमाडौँको चन्द्रागिरिमा एक व्यक्तिले युवकको हत्या गरेका छन् । महोत्तरी घर भर्इ चन्द्रगिरि नगरपालिका–३ थानकोट खरिबोट बस्दै आएका ३८ वर्षीय समि अहमतले नातामा सालो पर्ने महोत्तरीको गौशाला नगरपालिका–५ घर भएका २५ वर्षीय जाकिर मन्सुरीको चक्कु प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका जानकारी अनुसार अहमदले घरायसी विवादमा तरकारी काट्ने चक्कु प्रहार गरी गएराति सालोको हत्या गरेको खुलेको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएको थियो ।
उपचारको क्रममा गएराति साढे ९ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । आरोपी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ । युवकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।


