
भद्रपुर, ४ जेठ । झापाको भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान तथा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन नेपाल तथा भद्रपुर नगरपालिकाको त्रिपक्षीय साझेदारीमा सञ्चालन भइरहेको “अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम” अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम भद्रपुर नगरपालिका समाजिक विकास शाखाको आयोजना र भद्रपुर सहयात्री संस्थाको समन्वयमा भएको हो ।
स्थानीय अपाङ्गता समन्वय समितिकी संयोजक तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।
नगर प्रमुख गणेश पोखरेलले ब्यानर वाचन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो भने सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नगर प्रमुख गणेश पोखरेल, झापा नेत्रहीन संघका पूर्व अध्यक्ष द्रोणचार्य निरौला, वडा नं. ५ का कार्यवाहक अध्यक्ष जेष्ठमल ठाकुर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम अन्तर्गत ह्विलचेयर दौड, चेस प्रतियोगिता तथा सुन्दर अक्षर लेखन प्रतियोगिता आयोजना गरिएको थियो भने गायन, नृत्य, कविता, मादल वादन र मुक्तकसमेत प्रस्तुति गरिएको थियो ।
चेस प्रतियोगितामा भद्रपुर–५ का चन्दनकुमार महतो प्रथम, भद्रपुर–९ का धनबहादुर सुनुवार द्वितीय तथा भद्रपुर–५ का तिनताल राजवंशी तृतीय हुनुभयो ।
त्यस्तै, ह्विलचेयर दौड प्रतियोगितामा भद्रपुर–३ का हर्कमान विश्वकर्मा प्रथम, भद्रपुर–४ का दिनलाल माझी द्वितीय, प्रमेश तामाङ तृतीय तथा भद्रपुर–८ का पुरणदास भट्टराईले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभयो ।

यस्तै, सुन्दर अक्षर लेखन प्रतियोगितामा भद्रपुर–७ का अजय सुवेदी प्रथम, भद्रपुर–४ का भेषराज काफ्ले द्वितीय, हर्कमान विश्वकर्मा तृतीय तथा भद्रपुर–५ का तरुण राजवंशी सान्त्वना हुनुभयो । विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । सबै प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमको समापन गर्नुहुँदै उपप्रमुख राधा कार्कीले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास र सामाजिक सहभागिता अभिवृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
्
कार्यपालिका सदस्य सीताकुमारी गुरुङ, करुणा फाउण्डेशन नेपालका जिल्ला संयोजक निश्चल घिमिरे, पालिका संयोजक अञ्जना लामिछाने, भद्रपुर सहयात्री संस्थाका अध्यक्ष धनजुजु श्रेष्ठ, शिक्षा शाखा प्रमुख पवित्रा ढकाल, नेपाल अपाङ्ग संघ (खगेन्द्र नवजीवन केन्द्र) का कार्यवाहक अध्यक्ष पवन श्रेष्ठ, मेची बहिरा संघका अध्यक्ष देवीप्रसाद निरौला, नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति केदार महत, कञ्चनजंघा अपाङ्ग कल्याण संघका अध्यक्ष कृष्णप्रसाद गेलाल लगायतको आतिथ्य रहेको थियो ।
सहजकर्ता पूजा श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा सांकेतिक भाषा दोभाषेको भूमिका मेची बहिरा संघकी सहजकर्ता रिया पोखरेलले निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा २०० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । तीमध्ये ४० जनाले विभिन्न प्रतियोगितामा सहभागिता जनाउनुका साथै आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । विभिन्न विधामा सहभागी सम्पूर्ण प्रस्तुतकर्तालाई प्रोत्साहनस्वरूप नगद १ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।


