
झापा, ६ जेठ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सामाजिक सञ्जालमार्फत कक्षा १२ को परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र र उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखाका २९ वर्षीय सन्तोष बन्जारा र धादिङका २० वर्षीय अश्विन अधिकारी रहेका छन्। उनीहरूले ‘कक्षा १२ व्यवस्थापन मात्र’ नामक ह्वाट्सएप समूह तथा फेसबुक म्यासेन्जरमार्फत प्रश्नपत्र र उत्तर सार्वजनिक गरी गोपनीयता भङ्ग गरेको आरोप प्रहरीले लगाएको छ।
सीआईबीका अनुसार राष्ट्रिय परीक्षा बोर्ड बाट प्राप्त सूचनापछि गरिएको प्राविधिक अनुसन्धानका क्रममा उनीहरूको संलग्नता खुलेको हो। दुवैलाई काठमाडौंको रत्नपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।


