
भद्रपुर, ८ जेठ । भद्रपुर नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका लागि ३० दिने आधारभूत कम्प्युटर तालिम तथा डिजिटल शैक्षिक सामग्री निर्माण तालिम सुरु गरिएको छ ।
भद्रपुर नगरपालिकाको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका सबै शिक्षकलाई अनिवार्य कम्प्युटर तालिमको अवसर प्रदान गर्ने उद्देश्यसहित ११० जना शिक्षकलाई तालिममा सहभागी गराइएको नगर शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए
शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भइरहेको तालिमका लागि वीरेन्द्र माध्यमिक विद्यालय, हिमाली माध्यमिक विद्यालय र भद्रपुर माध्यमिक विद्यालय लाई केन्द्र तोकिएको छ । प्रशिक्षक शिक्षकमार्फत तालिम सञ्चालन भइरहेको जनाइएको छ ।
बदलिँदो समयमा शैक्षिक गतिविधि डिजिटल माध्यमबाट सञ्चालन हुन थालेसँगै विद्यार्थीको सिकाइ उपलब्धिलाई सहज र प्रभावकारी बनाउन डिजिटल शैक्षिक सामग्रीको प्रयोग बढ्दो छ । यही आवश्यकतालाई ध्यानमा राख्दै शिक्षकलाई प्रविधिमैत्री शिक्षण सीप प्रदान गर्न तालिम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख गणेश पोखरेलले जानकारी दिए ।
तालिममार्फत शिक्षक तथा प्रधानाध्यापकलाई कम्प्युटरको आधारभूत प्रयोग, डिजिटल सिकाइ सामग्री निर्माण, कार्यालय व्यवस्थापन तथा शिक्षण कार्यलाई प्रविधिमैत्री बनाउने विषयमा प्रशिक्षण दिइनेछ । विशेषगरी लामो समयदेखि शिक्षण सेवामा रहेका शिक्षकलाई आधुनिक प्रविधिसँग अभ्यस्त गराई दक्ष जनशक्ति विकास गर्ने उद्देश्य राखिएको शिक्षा शाखाका प्रेम भुजेलको भनाई छ ।
३० दिनसम्म सञ्चालन हुने तालिम प्रत्येक दिन १ घण्टा ३० मिनेट विद्यालय समयअघि वा पछि भौतिक उपस्थितिमै सञ्चालन गरिनेछ । तालिमलाई प्रभावकारी बनाउन चार वटा सिकाइ केन्द्र निर्धारण गरी तीन समूहमा कार्यशाला सञ्चालन गरिने जानकारी दिइएको छ ।
तालिमका प्रमुख उद्देश्यहरूमा कम्प्युटरको आधारभूत ज्ञान प्रदान गर्ने, डिजिटल शिक्षण सामग्री निर्माण सीप विकास गर्ने, इमेल तथा इन्टरनेट प्रयोग क्षमता अभिवृद्धि गर्ने, शिक्षासम्बन्धी इ–पोर्टलहरूको अध्ययन तथा प्रयोगमा दक्ष बनाउने र विद्यालयको कम्प्युटर शिक्षणलाई प्रभावकारी बनाउने रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


