
राजेश ढुंगाना
नेपालका धेरै राजनीतिक दलहरूले आन्दोलन, जनयुद्ध, जनआन्दोलन वा विभिन्न राजनीतिक संघर्षका समयमा अग्रपंक्तिमा रहेका नेता–कार्यकर्ताहरूलाई ‘संघर्षका बेला प्रयोग गर्ने, पछि बिर्सने’ प्रवृत्ति देखाएका छन् । विशेषगरी दीर्घरोग, अशक्तता, मानसिक आघात, आर्थिक संकट वा वृद्धावस्थामा पुगेका पूर्वकार्यकर्ताहरूको उपचार, पुनस्र्थापना र जीविकोपार्जनमा पर्याप्त ध्यान नदिनु नैतिक र मानवीय संवेदना दुबै दृष्टिले आलोच्य हो ।
कुनै पनि आन्दोलन केवल शीर्ष नेताबाट होइन, हजारौं सामान्य नेता–कार्यकर्ताको त्याग, यातना, विस्थापन, जेल र स्वास्थ्य-जीवन क्षतिको मूल्यमा बनेको हुन्छ । नेपालमा विशेषगरी २०४६ र २०६२–’६३ सालका आन्दोलन, मधेश आन्दोलन र विभिन्न क्षेत्रीय पहिचानवादी आन्दोलनपछि धेरै पूर्वकार्यकर्ता आर्थिक र स्वास्थ्य संकटमा परेको चर्चा सार्वजनिक रूपमा हुँदै आएको छ । तर, दलहरूको प्राथमिकता सत्ता, गठबन्धन, चुनाव र आन्तरिक शक्ति संघर्षतिर नै केन्द्रित रहँदै आयो । यो बेवास्ताले शीर्ष वा अगुवा नेताहरूमा ‘काम सकिएपछि कार्यकर्ता गौण’ भन्ने मानसिकता व्याप्त रहेको पुष्टि गर्दछ ।
आलोचनासँगै अर्को पक्ष पनि छ— कतिपय दलहरूले सीमित रूपमा राहत राशि, उपचार सहयोग, शहीद÷घाइते परिवार सहायता जस्ता कार्यक्रम चलाएको दावी गरे पनि ती पर्याप्त, व्यवस्थित र सबैसम्म पहुँचयुक्त छैनन्, भएनन् – यो गुनासो मात्र होइन, वास्तविकता हो । पीडित कार्यकर्ताको उपचार, राहत र जीविकोपार्जनप्रति पार्टीले घोर बेवास्ता गरिरहेको रवैया कसैबाट लुकेको पनि छैन । लोकतान्त्रिक र नैतिक दृष्टिले हेर्दा, कुनै पनि राजनीतिक संगठनले आफ्ना संघर्षशील सदस्यहरूलाई बिरामी, अशक्त वा आर्थिक संकटमा पर्दा साथ दिनु केवल दया होइन, संगठनात्मक जिम्मेवारी र कत्र्तव्य पनि मानिन्छ ।
अर्थात्, हिजो देशमा प्रजातन्त्र वा लोकतन्त्रका खातिर परिवर्तनको राँको बालेर, आफ्ना रगत र पसिनाले आजको सत्ताको जग हाल्ने क्रान्तिकालका तल्लो तहका नेता–कार्यकर्ताहरू आज कहाँ छन् ?— यो प्रश्नले नेपालका उपल्ला तहका राजनीतिक दलका नेताहरूलाई रत्तिभर पोल्ने गरेको छैन । इतिहासकै सबैभन्दा निर्दयी र कृतघ्न दृश्य कतै देखिन्छ भने, त्यो नेपाली राजनीतिकै शीर्ष नेतृत्वमा देखिन्छ ।
हिजो जसले बन्दुक बोके, नारा लगाए र नेताहरूलाई बुइ चढाएर सिंहदरबार पु¥याए, आज तिनैमध्येका अधिकांश मोफसलका नेता–कार्यकर्ताहरू अस्पतालका शैड्ढयामा वा घर÷डेरा÷टहराकै ओछ्यानमा कडा र पीडादायी रोगहरूसँग लडिरहेका छन् । कतिपयको घरमा बिहान–बेलुकाको चुल्हो बल्ने अवस्था पनि छैन । तर, विडम्बना… हिजो क्रान्तिका नाममा कसम खाने र आज चिल्ला गाडीमा शयर गर्ने शीर्ष नेताहरूलाई कैयौं वर्ष यता आफ्नै ती पुराना सारथिहरूको उपचार, राहत र जीविकोपार्जनमा चासो राख्ने फुर्सद भएन !
यो केवल बेवास्ता मात्र होइन, वैचारिक र मानवीय स्खलनको पराकाष्ठा हो । सत्ताको मदिरामा लठ्ठिएका नेताहरूका लागि हिजोका ती सिपाहीहरू आज ‘प्रयोग भइसकेका म्याग्जिन वा अनावश्यक कसिङ्गर’ साबित भएका छन् । नेताहरू विदेशी अस्पतालमा सरकारी ढुकुटीबाट करोडौं खर्चेर उपचार गराउने, तर आफ्नै लागि जीवन अर्पेका कार्यकर्ता औषधि नपाएर छट्पटाउँदा आँखा चिम्लिन्छन् ।
सन्दर्भ झापाबाटै शुरु गरौं – याम भण्डारी धुलाबारीमा बस्ने कुनै सामान्य नाम होइन, यो त नेपाली क्रान्तिको एउटा पर्याय हो । नेपाली कांग्रेसद्वारा सञ्चालित जनक्रान्तिमा २०१७ साल यता हजारौं सपुतहरू शहीद भए, त्यसको कुनै हिसाबकिताब र खोजखबर भएन । उनीहरू वा उनीहरूको परिवारलाई केही दिनु पर्दथ्यो भन्ने होइन; केही पाउन उनीहरूले शहादत दिएका पनि होइनन् । तर, यति चाहिं पक्का हो– बाँचेकाहरूलाई ३५ वर्षसम्म घुस खाने र भ्रष्टाचार गर्ने खुलेआम लाइसेन्स दिनका लागि उनीहरूले मृत्यु वरण गरेका पक्कै होइनन् ।
निष्पक्ष भएर हेरौं त– कांग्रेसलाई ती कैयौं शहीदहरूको रगतको श्राप र पाप लाग्छ कि लाग्दैन ?— प्रश्न जतिसुकै पीडादायी भए पनि कांग्रेसको २०४७ सालपछिको गति र मति देख्ने कसैले पनि यो प्रश्न उठाउँछ । आफ्नै सभापति कृष्णप्रसाद भट्टराईलाई हराउने खेलादेखि लिएर शेरबहादुरले पार्टी फोड्नुसम्मको झेला सत्ता र सम्पत्तिकै लागि थियो । त्यसैले कांग्रेस शहीदहरूद्वारा श्रापित छ । झन् विगतको ३५ वर्षे कुशासनबाट त जनता र कार्यकर्ता समेत नै पनि कति आक्रोशित रहेछन् भन्ने कुरा हालैको आम निर्वाचनले देखाइसकेको नै छ ।
शहीदहरूको बलिवेदीको कहालिलाग्दो कथाको कुरालाई माथि उल्लेखित सन्दर्भमै सीमित राखौं । जुन पीडाको कुनै उपचार छैन, हुन सक्दैन । तर, मर्नेहरू बाहेकका ‘जिउँदा शहीद’हरू पनि नेपाली कांग्रेसले २०१७–२०४७ मा हजारौंको संख्यामा पाएकै हो — मेची–महाकाली र सबै कालखण्डमा । २०१७ सालका क्रान्तियोद्धादेखि २०४७ सम्मका क्रान्ति सिपाहीसम्म । यिनै मर्नबाट बँचेका योद्धाहरूको सक्रिय बलिदानपूर्ण सङ्घर्षले क्रान्ति २०१७–४७ सम्म थामिएन, फलतः सफल नै भयो ।
राम–लक्ष्मण जस्ता जाज्वल्यमान युवाहरू र भीमनारायण, यज्ञबहादुर जस्ताले शहादत प्राप्त गरेको सो जीवन्त पार्टीले २०५० सालदेखि समातेको बाटोले शहीद त अपमानित भए भए; जिउँदा शहीदहरूलाई पनि किनाराकृत गरिएको छ ! तत्कालीन ती युवाहरूलाई जेल कोचियो, चरम यातना दिइयो । तर, ती युवाहरू आफ्नो आस्थामा किञ्चित डग्मगाएनन् । आफ्नो आदर्शलाई जेल मुक्तिमा साटेनन् । माफी मागेर छुट्नुभन्दा आफ्नो आस्थाका खातिर चट्टान बनेर जेल नेल यातना स्वीकारे, सहे — वर्षौंसम्म र पटक–पटक ।
यस्तै एउटा प्रतीक हुन् – याम भण्डारी । उनले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको अन्य क्रान्तिकारीहरू सरह नै कांग्रेसले अवमूल्यन ग¥यो । यहाँ याम भण्डारी एउटा व्यक्तिको कुरा होइन; देशभरिका जिउँदा शहीदहरुलाई कांग्रेसले गरेको अपहेलना र अपमान छ — याम भण्डारीको कथा र व्यथामा । र, यो पीडायुक्त कथा कांग्रेसद्वारा अपहेलित हजारौं वीरहरूको सगोल पर्याय हो ।
यतिबेला याम भण्डारी बिरामी भएर बिराटनगरको कुनै अस्पतालको खाटमा अचेत अवस्थामा हुनुहुन्छ । त्यसो त यो समाचार अहिलेको कांग्रेसलाई कुनै समाचार नै होइन, कुनै मतलबको कुरा होइन । हिजो, आज र भोलि पनि योद्धाहरुलाई कांग्रेसले गर्ने व्यवहार यही हो । भोलि केही भइगयो भने भतिज विश्वप्रकाशहरू चारतारे ओढाउन भने पक्कै आउनेछन् ।

यहाँ कांग्रेसको मात्र कुरा भए पनि अन्य सबै दलहरूमा सयौं याम भण्डारीहरू छन् । एमाले.को के कुरा गर्नु, सानो दुर्गा अधिकारी एक जनाको उदाहरण पर्याप्त छ भने माओवादीले हजारौं लडाकुहरुलाई समायोजनमा अर्बौंमा साटेको छ । ‘मधेशवादी’ भनिने दलपतिहरूले गरेको पनि यस्तै नै छ ! के नेपालको राजनीतिक दलका नेताहरूको नियत ‘खोलो त¥यो, लौरो बिर्सियो’ हो ? — पेचिलो प्रश्न यहाँ छ !
याद रहोस्, जुन जगमा उभिएर हिजोसम्मन् खासगरी, कांग्रेस, एमाले र माओवादी वा मधेशवादीहरू अहंकार गर्जिन्थे – तिनलाई त्यो धरातल तिनै आज उपेक्षित, उत्पीडित र अस्वस्थ कार्यकर्ताहरूको बलिदानले उपलब्ध गराएको थियो । आफ्ना घाइते र बिरामी सहयोद्धालाई चटक्कै बिर्सने नेतृत्व इतिहासकै कलङ्क हो । आफ्ना कार्यकर्ताको आँशु र पीडामाथि ठडिएको सिंहदरबारको तिनको पद धेरै दिन सुरक्षित रहन सकेन पनि । ती दलका कृतघ्न र कोढी मनका नेताहरूलाई ती पीडित, रोगी र बेसहाराहरूको श्राप पनि लागेको हो ।


