
झापा, १२ जेठ । सोमबार राति आएको वर्षासहितको भीषण हावाहुरीले झापाका विभिन्न स्थानमा घर, उद्योग, कुखुरा फार्म, विद्युत पोल तथा अन्य संरचनामा व्यापक क्षति पुर्याएको छ । हावाहुरीका कारण जिल्लाभर लाखौँ रुपैयाँ बराबरको क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
जिल्लाको गौरादह नगरपालिका–७ डाँडागाउँमा पर्शुराम दाहालले सञ्चालन गरेको कुखुरा फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पक्की पिलर, टिनको छानो, काठको प्लाई र तारजालीले बनेको फार्ममा हावाहुरीले ठूलो क्षति पुर्याउँदा २५ वटा ब्रोइलर कुखुरा समेत मरेका छन् । उक्त घटनाबाट करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
हल्दीबारी गाउँपालिका–२ मा हावाहुरीले तीन जनाका घरको छानो उडाउँदा करिब ९० हजार रुपैयाँ बराबरको क्षति भएको छ । चरण बास्केको फुसको छानो भएको घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा २० हजार रुपैयाँ, फुलकुमारी केरुङको डेढतले पक्की घरको टिनको छानो उडाउँदा ५० हजार रुपैयाँ तथा सुद्ला राजवंशीको घरको टिनको छानो उडाउँदा २० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
त्यसैगरी गौरादह नगरपालिका–६ मा श्यामलाल बैसराको घरको छानो उडाउँदा ७० हजार रुपैयाँ तथा हुकुमसिंह राईको घरमा ६० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । आरतीनगरका मानबहादुर पराजुलीको भान्सा घरको छानो उडाउँदा घरभित्र राखिएको २० मन धान र २० मन मकै भिजेर करिब ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
हल्दीबारी गाउँपालिका–५ धनुषटोल निवासी पूर्णमाया पनेरु चापागाईंको घरको टिनको छानो उडाउँदा २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यसैबीच, गौरादह नगरपालिका–८ बैराती टोलमा इन्द्रमणि प्रसाईंका दुईवटा घरमा चट्याङ पर्दा विद्युतीय सामग्री जलेर नष्ट भएका छन् । घटनामा ७ वटा सिलिङ फ्यान, १२ वटा बल्ब, एक थान फ्रिज, ६३ इन्चको टिभी, सोलार, विद्युत मिटर, तार तथा कागजातहरूमा क्षति पुग्दा करिब १ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
दमक नगरपालिका–१० मा गुणराज थापाले सञ्चालन गरेको गरिमा इँट्टा भट्टाको भवनको छानो उक्लिएर पल्टिँदा क्षति पुगेको छ भने मेचीनगर–१५ मा रहेको जय माँ कामाक्ष इन्डष्ट्रिज प्रालिको गोदाम तथा प्लाई उद्योगको जस्तापाताको छानो उडाउँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै मेचीनगर–८ इटाभट्टास्थित सूर्यदय कम्पनीको पार्किङ भवनको जस्ताको छानो उडेर पार्किङमा रहेका मे १ ख २५२६ र मे १ क २७९३ नम्बरका बसको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ ।
हावाहुरीका कारण बिर्तामोडका विभिन्न स्थानमा विद्युत पोल ढलेर सडक अवरुद्ध भएका थिए । बिर्तामोड–३ विराट आदर्शटोल, बिर्तामोड–८ त्रिवेणीचोक तथा बिर्तामोड–६ स्यालडाँगी क्षेत्रमा गरी सात वटा विद्युत पोल ढलेका छन् । केही स्थानमा रुख ढलेर सडक अवरुद्ध भए पनि स्थानीयले हटाएर यातायात सञ्चालन गरिसकेका छन् ।
यस्तै बाह्रदशी गाउँपालिका–५ मागुगाउँमा पृथ्वीलाल राजवंशीको घरको टिनको छानो पूर्ण रूपमा उडाउँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


