
झापा, १४ जेठ । हावाहुरीका कारण झापाका दुई वटा पालिकाको केरा खेतीमा क्षति पुग्दा करिब रु चार करोड २० बराबरको क्षति पुगेको छ ।
झापाको बाह्रदशी गाउँपालिका–७ मा ६० बिघा क्षेत्रमा कृषकले लगाएको केरा खेतीमा क्षति पुग्दा करिब रु तीन करोड ६० लाख र झापा गाउँपालिका–३ मा १२ बिघामा लगाएको खेरा खेतीमा क्षति पुग्दा करिब ६० लाख बराबरको क्षति भएको हो ।
गत बैशाख ११ गते राति आएको हावाहुरीका कारण बाह्रदशी गाउँपालिका–७ स्थित बत्तिस बिघे क्षेत्रमा स्थानीयबासीले लगाएको करिब ६० बिघा केरा खेतीमा क्षति पुग्दा रु तीन करोड ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
हाल क्षतिको थप विवरण संकलन तथा आवश्यक मुचुल्का गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै, झापा गाउँपालिका–३ मा कृषक चन्द्र बस्नेत र पूजा खनाल १२ बिघामा लगाएको केराखेतीमा क्षति पुग्दा करिब रु ६० लाख क्षति भएको कृषिज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । विस्तृत विवरण संकलन गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।


