
भद्रपुर, १५ जेठ । समाजमा बढ्दै गइरहेको लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि भद्रपुरको चन्द्रगढीमा एक दिने सचेतना प्रशिक्षण सम्पन्न गरिएको छ ।
भद्रपुर नगरपालिकाको आर्थिक साझेदारीमा चेतना नेपालको संयोजनमा भद्रपुर–१० का टोल विकास समितिका पदाधिकारीलाई लक्षित एक दिने सचेतना प्रशिक्षण सम्पन्न गरिएको हो ।
भद्रपुर–१० का वडा सदस्य दुर्गाप्रसाद दाहालको अध्यक्षता तथा नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा १२ वटा टोल विकास संस्थाका पदाधिकारीले भाग लिएका थिए ।
कार्यक्रमको सहजीकरण चेतना नेपालका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक इन्द्रप्रसाद ओली र प्रशिक्षक कल्पना भट्टराईले गरेका थिए ।
कार्यक्रममा नेपालमा लागू औषध प्रयोग कर्ताको वर्तमान अवस्था बारे बताउँदै प्रमुख प्रशिक्षक ओलीले २ लाख बढी युवा युवती कुलतमा परेको विवरण समेत पेश गरेका थिए भने झापामा मात्र २० हजार बढी व्यक्ति लागू औषध दुव्र्यसनको शिकार भएको विवरण पेश गरेका थिए ।


