
कनकाई, १६ जेठ । झापाको कनकाई नगरपालिकामा पूर्व रिसिइबीका कारण एक युवकमाथि धारिलो हतियार प्रहार हुँदा उनी गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ः१० बजे कनकाई नगरपालिका–५ चप्रामारी क्षेत्रमा बाह्रदशी गाउँपालिका–७ निवासी अन्दाजी ३० वर्षीय सूर्यलाल राजवंशीमाथि आक्रमण भएको हो । बाटोमा हिँडिरहेका राजवंशीलाई कनकाई नगरपालिका–५ तुलसीबारी निवासी अन्दाजी २५ वर्षीय दीपक बिष्टले दाउ प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर प्रयोग गरिएको दाउसहित आरोपी बिष्टलाई नियन्त्रणमा लिएको छ । उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।
घाइते राजवंशीको प्रारम्भिक उपचार कनकाई नगर अस्पताल सुरुङ्गामा गरिएको थियो । अवस्था गम्भीर भएपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


