
कनकाई, १५ जेठ । झापाको कनकाई नगरपालिकामा सहकारी समन्वय समिति गठन गरिएको छ ।
झापा जिल्ला सहकारी संघ लि.को आयोजनामा जेठ १३ गते कनकाई नगरपालिका सहकारी समन्वय समिति गठन गरिएको हो । कनकाई नगरपालिका सहकारी समन्वय समिति संयोजक कुमारमणि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो भने उपप्रमुख आशा शर्मा शिवकोटी विशिष्ट आतिथ्य रहेको थियो ।
भेलाले गोपाल उप्रेतीलाई (दुर्गापुर साझा सहकारी संस्था लिमिटेड) संयोजकका रुपमा चयन गरेको छ । त्यसैगरी, सहसंयोजकमा रेणुका खतिवडा (सक्षम सामाजिक महिला उद्यमी कृषि सहकारी संस्था लिमिटेड) र सचिवमा भरत थपलिया (दोमुखा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड) चयन हुनुभएको छ ।
समितिका सदस्यहरूमा भेषराज संग्रौला (कोटीहवन कृषि सहकारी संस्था लिमिटेड), मानबहादुर पौडेल (गोहिखाडी कृषि सहकारी संस्था लिमिटेड), ईश्वर सुवेदी (वसुन्धरा कृषि सहकारी संस्था लिमिटेड), अनिता पौडेल (सृजना महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेड) र सीता सापकोटा (जामुनखाडी कृषि सहकारी संस्था लिमिटेड) चयन हुनुभएको छ ।
नवनिर्वाचित समितिलाई जिल्ला सहकारी संघका उपाध्यक्ष देवी निरौलाले सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा संघका सचिव भवानीप्रसाद दंगालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन पालिका समन्वय समितिका सदस्य खेमप्रसाद प्रसाईंले गर्नुभएको थियो ।
कार्यक्रममा कनकाई नगरपालिकाका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेल, जिल्ला सहकारी संघ लिमिटेडका कोषाध्यक्ष केशव बस्नेत, सदस्यहरू युवराज गौतम, पुष्पा अधिकारी, निला कुमारी दाहाल, बिन्दाकुमारी थापा तथा व्यवस्थापक सञ्जु देवान लगायतको सहभागिता रहेको थियो ।
कनकाई नगरपालिका भित्र सञ्चालित विभिन्न सहकारी संस्थाका ४४ जना प्रतिनिधिहरूको उपस्थितिमा पालिका सहकारी समन्वय समिति गठन गरिएको संघले जनाएको छ ।


