
झापा, १८ जेठ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज ९सोमबार० भारत भ्रमणमा जाँदै छन्।
भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछानेले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमण गर्न लागेका हुन्।
रास्वपाले आइतबार राति जारी गरेको विज्ञप्तिअनुसार सभापति लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारतमा रहनेछन्। भ्रमण टोलीमा उनकी पत्नी निकिता लामिछाने, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य सहभागी रहने जनाइएको छ।
रास्वपा प्रवक्ता मनीष झा का अनुसार लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ। यस क्रममा उनले भाजपाका शीर्ष नेतासँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्नेछन्।
भ्रमणका क्रममा लामिछाने व्यक्तिगत रूपमा अयोध्या समेत जाने कार्यक्रम रहेको बताइएको छ।
यता भाजपाले पनि आइतबार विज्ञप्ति जारी गर्दै रास्वपा प्रतिनिधिमण्डलको भारत भ्रमणबारे जानकारी गराएको छ। विज्ञप्तिअनुसार प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेतासँग भेटवार्ता गर्नेछ ।
रास्वपाका अनुसार सभापति लामिछाने आज दिउँसो १ बजे भारत प्रस्थान गर्ने कार्यक्रम छ । यो भ्रमण प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिपछि हुन लागेको भन्दै राजनीतिक वृत्तमा यसप्रति विशेष चासो व्यक्त गरिएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


