
काठमाडौं, १८ जेठ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको कक्षा-११ र १२ को छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
आइतबार बिहान ८ देखि १० बजेसम्म सञ्चालन भएको परीक्षामा २२ हजार २० जना विद्यार्थी सहभागी भएका थिए। महानगरले परीक्षा सम्पन्न भएको २४ घण्टाभित्रै नतिजा सार्वजनिक गरेको हो।
छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अंक प्राप्त गर्ने परीक्षार्थीहरूको प्रारम्भिक योग्यताक्रमसहित नतिजा प्रकाशित गरिएको महानगरले जनाएको छ।
विद्यार्थीहरूले अनलाइन पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न तथा प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ।
महानगरले संस्थागत विद्यालयमा कक्षा ११ र १२ अध्ययनका लागि २०८० सालदेखि छात्रवृत्ति परीक्षा सञ्चालन गर्दै आएको छ। गत वर्ष १० हजार ८६७ विद्यार्थी उत्तीर्ण भएका थिए भने यस वर्ष उत्तीर्ण हुनेको संख्या उल्लेख्य रूपमा बढेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


