
झापा, १८ जेठ । झापाको मेचीनगर नगरपालिका–१५ निलकोठीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार राति करिब १० बजे स्थानीय ५५ वर्षीय रुद्र श्रेष्ठ र त्यही क्षेत्रमा ज्याला मजदुरी गर्दै आएका तनहुँको दमौली घर भएका ३५ वर्षीय रामबहादुर गौतमबीच सामान्य भनाभन तथा विवाद भएको थियो। विवादका क्रममा भएको कुटपिटबाट श्रेष्ठ गम्भीर घाइते भएका थिए।
सो घटनाबारे सोमबार बिहान ७ः२० बजे प्रहरी चौकी ज्यामिरगढी झापामा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक सरोज थापाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। घाइते श्रेष्ठलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा बिहान ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा रामबहादुर गौतमलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


