
झापा, १८ जेठ । गौतम समाज झापा केन्द्रीय समिति झापाले श्रीमद्भागवत महोत्सव २०८३ को आयव्यय सार्वजनिक गरेको छ । महोत्सव सुरु भएको ठिक एक महिनापछि समाजले आज बृहत भेला मार्फत आयव्यय अत्रि–अनुसुया भवन कोटीहवनमा सार्वजनिक गरेको हो ।
महोत्सवमा कुल २३ लाख ४३ हजार ९६३ आम्दानी भएको थियो। त्यसमध्ये महोत्सवमा १३ लाख १३ हजार ५१८ रुपैयाँ खर्च भएको समाजका कोषाध्यक्ष जयनारायण गौतमले महोत्सव समीक्षा भेलामा जानकारी दिए । यसबाहेक ९१ हजार १०२ रुपैयाँको स्थायी सम्पत्ति खरिद गरिएको छ । अत्रि ( अनुसुया आश्रम मर्मतमा २२ हजार एकसय खर्च भएको छ । त्यस्तै २२ हजार १५० रुपैयाँ बराबरको सामग्री मौज्दात रहेको कोषाध्यक्षद्वारा प्रस्तुत आयव्यय प्रतिवेदनमा उल्लेख छ।
इलामको चुलाचुलीसहित झापाका १३ गाउँ र नगर उपसमिति, लेखा समिति, मातृशक्ति उपसमितिलगायत गौतम बन्धु भेलामा आयव्यय प्रस्तुत गरिएको हो । भेलाले आयव्यय प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको समाजका अध्यक्ष नीतिरमण गौतमले बताए । महोत्सवबाट ८ लाख ७२ हजार ९७३ खुद बचत भएको छ । बचत रकम अक्षयकोषमा दाखिला गर्ने निर्णय गरिएको सचिव राजेन्द्र गौतमले जानकारी दिए । समाजको ३५ लाख बढीको अक्षयकोष छ । ५१ को अक्षयकोष बनाउने लक्ष्य समाजले राखेको सचिव गौतमले प्रष्ट्याए ।
अक्षयकोष वृद्धिको मुख्य लक्ष्यसहित समाजले २०८३ वैशाख १८ गतेदेखि २५ गतेसम्म कोटीहवनमा श्रीमद्भागवत महोत्सव सम्पन्न गरेको थियोे । भेलाले महोत्सव सफल पार्न तन, मन, धन, कर्म र वचनले सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ । समाज वंशोद्वार र सामाजिक कार्यमा सक्रिय छ । ज्येष्ठ नागरिक सम्मान, उत्कृष्ट विद्यार्थी पुरस्कृत, गुरुकुललाई सहयोग तथा बटुक सहभोज, रक्तदान लगायतका गतिविधि समाजले गर्दै आएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


