
झापा, १८ जेठ । झापाको भद्रपुरमा भारतबाट भन्सार छली गरी ल्याइएको करिब ७३ हजार ५ सय रुपैयाँ बराबरको रेडिमेड कपडा प्रहरीले बरामद गरेको छ।
सोमबार दिउँसो १ः४० बजे भद्रपुर नगरपालिका–५ देवीबस्तीस्थित ९९ नम्बर सीमा स्तम्भ क्षेत्रबाट अवैध रूपमा नेपाल भित्र्याइएको लेडिज उलन रेडिमेड कोट बरामद गरिएको हो।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक युवराज श्रेष्ठको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेपछि सामान बोकेर आएका व्यक्तिहरू प्रहरीलाई देख्नासाथ कपडा छाडेर फरार भएका थिए। प्रहरीले घटनास्थलबाट अन्दाजी ७३ हजार ५ सय रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरी वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याएको जनाएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


