
झापा, १८ जेठ । झापाको भद्रपुरमा लागुऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक युवराज श्रेष्ठको कमाण्डमा खटिएको टोलीले सोमबार अपराह्न ४ः३० बजे भद्रपुर नगरपालिका–४ डाँगीबारी क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक युवकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–४ बनियानी घर भई हाल बिर्तामोड नगरपालिका–४ मेघाबारी बस्दै आएका २३ वर्षीय हेमन्त विश्वकर्मा रहेका छन् ।
प्रहरीका अनुसार विश्वकर्माले प्रहरीलाई देख्नेबित्तिकै दाहिने हातमा लुकाएर ल्याएको पोको झाडीमा फाल्न खोजेका थिए। शंका लागेर जाँच गर्दा प्लास्टिकसहित ५ ग्राम ६६० मिलिग्राम तथा प्लास्टिकबाहेक ५ ग्राम १२० मिलिग्राम तौल भएको ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको थियो ।
लागुऔषधसहित पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


