
झापा, १९ जेठ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको छ ।
कार्यदलको सचिवालयले जेठ ८ गते सूचना जारी गर्दै संविधानमा आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकसँग लिखित सुझाव माग गरेको थियो। सोही आह्वानअनुसार देशभरबाट उल्लेख्य संख्यामा सुझाव प्राप्त भएका हुन् ।
कार्यदलका सदस्य–सचिव लिलाधर सुवेदीका अनुसार १९ हजार २३९ सुझाव इमेलमार्फत र २५ हजार ३७४ सुझाव ह्वाट्सएपमार्फत प्राप्त भएका छन् ।संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सुझाव संकलन गरिएको कार्यदलले जनाएको छ ।
नागरिकहरूले कार्यकारी राष्ट्रपति प्रणाली, संघीयताको पुनरावलोकन, संवैधानिक निकायहरूको पुनःसंरचना, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकामा प्रतिस्पर्धामार्फत न्यायाधीश नियुक्ति तथा जनप्रतिनिधिको न्यूनतम योग्यता निर्धारणलगायत विषयमा सुझाव दिएका छन् ।
सदस्य–सचिव सुवेदीका अनुसार प्राप्त सुझावहरूको अध्ययन तथा विश्लेषण गर्ने कार्य भइरहेको छ । कार्यदलले ती सुझावका आधारमा संविधान संशोधन बहसपत्र तयार गर्ने तयारी गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


