
झापा, २० जेठ । झापाको मेचीनगरमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ ५ः२० बजे मेचीनगर नगरपालिका–७ स्थित सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि गोमनसरीबाट धुलाबारीतर्फ जाँदै गरेको होलिबेल इङ्गलिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार भारतको किशनगञ्ज गलगलिया निवासी ३२ वर्षीय अजय माझी र मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा साँझ ५ः५० बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मृतक दुवै जनाको शव प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ। दुर्घटनामा संलग्न बसका चालक मेचीनगर–११ निवासी ४५ वर्षीय निरेन धिमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त बस र मोटरसाइकल इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


